जातीय भिवेद तथा छुवाछूत समाजको लागि हानिकारक र भ्रहामक, अन्धबिस्वास को कुरा हो।

        प्रशान्त बिश्वकर्मा   

 

म हिन्दू धर्म मान्ने परिवारमा जन्मिएँ । यो एउटा संयोग थियो । जीवनका कतिपय परिघटनाहरु संयोगबाटै निर्देशित हुन्छन्, तब मेरो जीवन पनि सोही धर्मको परिधिभित्र अघि बढ्यो ।

जब हामीले समाज बारे बुझ्न थाल्यौं, धर्म र मानव जीवनको सम्बन्ध बारे थाहा पायौं तब “हामी जस्तो मान्छे यो संसारमा तयार भएको ७० हजार वर्ष भएछ तर धर्म शुरु भएको जम्मा ५ हजार वर्ष मात्रै भएछ । अगाडीको ६५ हजार वर्षसम्म त समाजमा धर्म भन्ने चिज नै रहेनछ । धर्म त समाजको लागि नचाहिने चिज पो रहेछ” भन्नेमा प्रष्ट भयौं।

जब “धर्मको साहारामा शासकहरुले दमन विस्तार गरे, समाज उत्पीडनको भासमा झन् झन् भासिँदै गयो, संघर्ष गर्नैपर्ने अवस्थाका उत्पीडित व्यक्ति पनि धार्मिक भएपछि संगठित संघर्षमा आउन नचाहेर स्वर्ग-नर्कको वाहियात विश्वासमा अल्झेरै सकियो” भन्ने बुझ्यौ, “धर्म त समाजको लागि नचाहिने चिज मात्रै हैन, हानिकारक नै रहेछ, हामीले त जीवनलाई विज्ञानसम्मत् पो बनाउनुपर्ने रहेछ” भन्नेमा प्रष्ट भयौं।

नबुझेको भए पो फरक कुरा, बुझिसकेपछि त कसरी धर्म अंगालेर बसिरहनु । तब हामीले अघिल्लो वर्षदेखि धर्मबाट अलग्गिने निर्णय गर्‍यौ, भौतिकवादी बन्ने यात्रामा अघि बढेँ ।

धर्मप्रतिको हाम्रो विचार बारे दशैं-तिहारमा आफन्तहरुले अलि बढी भेउ पाउँछन् । आफन्तहरुले जब हामी टीका लगाउँदिनँ भन्ने थाहा पाउँछन्, अनि प्रायको प्रश्न हुन्छ – “क्रिस्चियन बन्न लागेको हो र ?”

तब हामी “अर्को धर्म मान्न लागेको हैन, सबै धर्मबाट अलग भएर विज्ञानसम्मत् जीवन बाँच्न खोजेको । यसलाई भौतिकवादी बनेको भन्छन् । अहिले संसारका १६ प्रतिशत मानिसहरु कुनै पनि धर्म मान्दैनन् । हामी पनि बनेको” भन्दै धर्म र मानव जीवन बारे थप व्याख्या गर्दछौं ।

अनि केहीले “कुरा त ठीकै लाग्यो तर हामी त धर्मै छोड्न त सक्दैनौँ, त्यसो गरे आफन्तबाटै टाढिनुपर्छ” भन्छन् । केहीले “आफ्नो-आफ्नो विचार हो” भन्छन्, केही चाहिँ “खै के हो, के हो” भनेर अलमलमा पर्छन् ।

हामी धर्मबाट अलग भएपछिको यो दोश्रो तिहार हो । हामी यहाँसम्म आईपुग्दा महसुस भएको छ -“ठीक-बेठीक प्रष्ट भएपछि ठीक तिर लाग्न खुट्टा कमाउनु हुँदैन । बुझेकाले पनि खुट्टा कमाउने हो भने अर्को कसले आँट गर्न सक्छ ? केही समय परिवार, आफन्तमा असन्तुष्टि जस्तो रहला तर क्रमश: सहज बन्दै जान्छ । यसबारे बुझ्न चाहानेलाई हामीले बुझाउने प्रयत्न गर्न झिंझो चाहिँ मान्नु हुँदैन । अनि अर्को महत्वपूर्ण कुरा, धर्म मानिरहेकाहरुलाई घृणा गरेर चाहिँ हुँदैन । ‘त्यो बेठीक छ है’ भनेर क्रमश: बुझाउँदै चाहिँ जानुपर्छ ।”