मध्यपश्चिम विश्वविद्यालयका विद्यार्थी दीक्षित हुँदै

वि.सं.२०७९ वैशाख ४ आइतवार २३:४२

मध्यपश्चिम विश्वविद्यालयको मङ्गलबार हुने दोस्रो दीक्षान्त समारोहमा ५१९ विद्यार्थी दीक्षित हुने भएका छन् । विश्वविद्यालयले पाँच सङ्कायका विद्यार्थीलाई सो अवसरमा स्वर्ण पदकसमेत प्रदान गर्ने जनाएको छ ।
प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाको अध्यक्षता तथा सन् २०१४ को नोबेल शान्ति पुरस्कार विजेता कैलाश सत्यार्थीको प्रमुख आतिथ्यतामा सुर्खेतको वीरेन्द्रनगर कुइने पानीस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालय परिसरमा दीक्षान्त समारोह आयोजना हुँदैछ ।
समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलको उपस्थिति रहने दीक्षान्त समारोह प्रचारप्रसार उपसमितिका संयोजक डा.लीलाधर तिवारीले जानकारी दिनुभयो । दीक्षान्त समारोह अघि विश्वविद्यालय सभा (सिनेट) को बैठक बस्नेछ ।
मानविकी तथा समाजशास्त्र सङ्कायका १५२, व्यवस्थापनका १२२, शिक्षाशास्त्रका ८५, विज्ञान तथा प्रविधिका १५ र इन्जिनियरिङका १४५ विद्यार्थी दीक्षित हुँदैछन् ।
विश्वविद्यालयले स्नातक, स्नातकोत्तर र विद्यावारिधि उपाधि हासिल गरेका विद्यार्थीलाई दीक्षित गर्न लागेको हो । यसअघि विश्वविद्यालयको पहिलो दीक्षान्त समारोह २०७४ साल असार १९ गते भएको थियो ।

वि.सं.२०७९ वैशाख ४ आइतवार २३:४२